राजनेता पं. अग्निप्रसाद खरेल
पूर्व नेपालको पाँचचर जिल्ला ओयाम गाउँमा सम्वत् १९६३ फागुन २७गते पिता ब्रह्मलाल र माता ईश्वरादेवीको तेस्रो सन्तानको रुपमा अग्निप्रसाद खरेलको जन्म भएको थियो। वहाँको प्रारम्भिक शिक्षा साथै ज्योतिष शास्त्रको शिक्षा बाहिरबाट ल्याइएका गुरुबाट घरमै भएको थियो। ज्योतिष शास्त्रको माध्यमबाट धन कमाउने उद्देश्यले अग्निप्रसाद सिक्किम हुँदै असम र बर्मा पुग्नुभयी। वर्मापछि काशीमा आई जमेर बस्न थाल्नुभयो । काशीमा वहाँले धन आर्जनका विविध ज्ञान आयुर्वेद, तन्त्र साधना आदिको प्रयोग गरी मनग्गे धन आर्जन गर्नुभयो। साथै वहाँले विभिन्न पुस्तकहरु (ज्योतिषी सम्बन्धी) लेख्नुभयो ।
वि.सं. १९९७ शहीद पर्वको घटनापछि नेपाली राजनीतिक सोच र योजनाहरु विचलित हुन पुगे । अग्निप्रसाद खरेलले पनि राणा विरोधी आन्दोलन शुरु गर्नुभयो। विभिन्न पर्चा, पम्प्लेटहरु तयार गरी नेपालका पूर्वदेखि पश्चिम सबैतिर पठाउने काम गर्नुभयो। सो कार्यदेखि तर्सेर राणा सरकार सजग भयो। त्यसैबेला नेपाल ब्रिटिस भारतका बीचमा 'विद्रोही पक्रेर हस्तान्तरण' गर्ने सन्धि भयो। यसै सन्धि बमोजिम भारतका प्रहरीले छापामारी अग्निप्रसाद खरेल, निजका माइला दाज्यु विष्णुप्रसाद र अन्तरे भाई श्रीप्रसाद खरेल समेतलाई जेल चलान गरियो। छ महिनासम्म सेन्ट्रल जेल बनारसमा बस्नुभयो। त्यसताका भारतमा महात्मागान्धीका अनुयायी सत्याग्रहीहरुले ब्रिटिस सरकारविरुद्ध आन्दोलन गरिरहेका थिए। जेलमा भारतका विभिन्न विद्वान तथा राजनेताहरुसँग सम्पर्क भई अग्निप्रसादले धेरै ज्ञान हासिल गर्नुभयो । त्यसपछि वहाँहरुलाई नेपालको भद्रगोल जेलकै कालकोठरीमा अति कष्टसाथ राखियो र तल्लोस्तरको खाना खान दिइयो, वहाँहरुले सो खाना बहिष्कार गर्नुभयो र राणाहरुलाई कड्किएर ठाडो जवाफ दिनुभएछ ।
अग्निप्रसाद खरेल जेलबाट छुटेपछि पुनः भारत जानुभयो। त्यहाँ वहाँले 'अखिल नेपाली राष्ट्रिय महासभा' नामक पार्टी खोलेर कार्यकर्ता परिचालन गरी संगठन विस्तार गर्न थाल्नुभयो । त्यसपछि पुनः नेपाल आई अग्निप्रसादले पाँचथर, ताप्लेजुङ्ग केन्द्र बनाई राणा विरुद्धका संघर्षमा लाग्नुभयो । त्यसैताका धनकुटाबाट आएका प्रहरीले उनलाई पक्रिएर धनकुटा लगे। धनकुटाबाट जेल सार गर्ने क्रममा धरान नजिकै चारकोशे जंगलमा दिशा गर्ने निहुँमा त्यहाँबाट भागी उम्केर दार्जीलिङ्ग पुग्नुभयो। यता नेपालको आयाममा राणा पक्षिय सुभाङ्गी शासनले अग्निप्रसाद खरेलहरुका परिवारजनहरुलाई दुःख दिई हैरान पारेकाले परिवार लिएर दाजीलिङ्ग नजिक अति विकट कमजोर भन्ने ठाउँमा लगेर राखियो। अझै पनि केही परिवार त्यहीं छन्। दार्जीलिङ्ग पुगेर फेरि अग्निप्रसाद सक्रिय राजनीतिमा लाग्नुभयो। सम्बत् २००२ देखि नेपालका शासक महाराजालाई सम्बोधन गरी सरकारका गतिविधि उल्लेख गर्दै सुधारका माग राखी पत्र लेखिएको देखिन्छ जो यसप्रकार छन्-
* विश्वविद्यालयको माग
* सामूहिक खेती योजनाको माग
* राष्ट्रिय कपास योजनाको माग
* हुलाकको व्यवस्थाको माग
* ज्योतिष परिषद्को स्थापनाको माग
* अनिवार्य प्राथमिक शिक्षाको माग
* जिल्ला बोर्ड कचहरी स्थापनाको माग
* पञ्चवर्षीय आर्थिक योजनाको माग
* प्रवासी नेपानीको सुरक्षा र सहयोग बारेको भाग
* निष्काशित नेपालीको स्वदेश फिर्न पाउनुपर्ने मास
* शहरमा म्युनिसिपल बोर्ड वा नगरपालिका चुनावको माग
* अम्लेखगन्जबाट बागमतिको किनारसम्म मैदानको बाटो र बागमतिको किनारदेखि सरलतापूर्वक काठमाडौं रेनगाडी भित्रयाउने माग
* पार्लियामेन्ट विधानसभाको चुनावको माग
* हुकुमी राजाको समाप्ती र कोषको वृद्धि, फौज सिविलको बन्दोबस्त, विदेशिएको धन नेपालमा भित्र्याई देशमै कलकारखाना चलाई उद्योग धन्दाको स्थापना गर्नुपर्ने माग
* देशबाहिरबाट सत्याग्रह गर्नेहरुले शान्तिपूर्वक गर्न पाउनुपर्ने माग
* मुलुकभित्र किताब छाप्ने अनुमति दिनुपर्ने माग
* फौजको रक्षा हुनुपर्ने माग (पाकिस्तानबाट नेपाली फौज घर फिर्ता उनीहरुलाई आक्रमण गरी मारेको
* संयुक्त राष्ट्रसंघमा स्वतन्त्र नेपालको तर्फबाट एकप्रतिनिधि नियुक्त गर्नुपर्ने माग
* नेपालको आउँदो शासन व्यवस्थाको स्वरुप प्रजातान्त्रिक शासन प्रणाली हुनुपर्ने माग
धनकुटाबाट जेल सार्दा उम्केर प्रवास पसी राजनीतिक गतिविधिमा सक्रिय रहँदै गर्दा डा. के आई. सिंह सित वहाँको भेट भयो। वहाँहरु दुवैले राणा शासनविरुद्ध चर्को संघर्ष गर्नुभयो। त्यसवेला वहाँहरु नेपाल फर्किएर अझ सक्रिय हुनुभयो त्यसवेला सिंहदरबार राणा प्रधानमन्त्रीको निवास, मन्त्रालय, सेनाको गारद र कैदी चुन्ने ठाउँ थियो। दिल्ली सम्झौताको विरोध गर्दै डा. के. आई. सिंह, रामप्रसाद राई र अग्निप्रसाद खरेल ३ वटा जीपमा केही सैनिक समेत लिएर सिंहदरबार भित्र छिरे (त्यसताका प्रधानमन्त्री टुडिखेलमा सैनिकहरुको सम्मान लिंदै थिए। र भित्रका हातहतियारहरु नियन्त्रणमा लिए, त्यहाँका कैदीहरुलाई छुटाए। त्यहाँ दोहोरो गोली हानाहान भयो । मोहन शमशेर (प्रधानमन्त्री) आउँदा अग्निप्रसाद खरेल श्री ३ को गद्दीमा बसिरहेको देखेपछि दुबै पक्षबाट रिवल्भर ताकाताक भएछ, साथमा रहेको मोहन शमशेरकी श्रीमतीले बाहुनको हत्या गर्नुहुँदैन बरु अरु नै कारबाही गर्नु राम्रो हुन्छ भनेपछि अग्निप्रसादलाई प्रहरी लगाई पक्रिएर दीर्घकालीन मन्दविषको सुई लगाएर थुनियो र पछि धनकुटा जेलसार गरियो। तर जेल जीवन लामो रहेन, अग्निप्रसाद छुट्नुभयो ।
पं. अग्निप्रसाद खरेलजस्ता दूरदर्शी देश र जनताका पक्षमा सधैं सोचिरहने, निरङकुशताका विरुद सधै लडिरहने, निर्भिक, खरो व्यक्तित्वका धनी तथा ओजस्वी राजनेताको जीवन वि.सं. २०११ पछि रहेन। सरकारी षड्यन्त्रबाट वहाँको अल्पायुमै मृत्यु भएकोले राज्यले वहाँलाई शहीद मान्नुपर्ने हो तर वहाँलाई इतिहासमा ओझेल पारिएको छ। एउटा साहसी, दूरदर्शी, प्रकाण्ड पं. तथा राजनेता खरेल परिवारमा जन्मनु मै अल्पायुमै षड्यन्त्रमूलक वहाँको निधनले समस्त खरेल परिवारलाई नै ठूलो क्षति पुगेको छ । नेपालका धेरै राजनेताहरुभन्दा निकै अग्रस्थानमा रहेका राजनेता पं. अग्निप्रसाद खरेललाई इतिहासको पर्दा पछाडि पारिनु अन्याय हुनेछ । अस्तु ।
स्रोतकर्ता: विजय खरेल
काकरभिट्टा
